काठमाडौं, फ्रेवुअरी २८ (नयाँ सन्देश) । नेपाल पर्यटन बर्ष २०११ लाइ सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासदसहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ । स्वाँरा गाविस–८ मा रहेको सो गुफा स्वाँरा, सौरपानी, आरुआवाङ र आरुचनौटे गाविस हुँदै आरुघाटसम्म रहेको र योभन्दा लामो गुफा नेपालमा अर्को नरहेको स्वाँरा एकता क्लबका अध्यक्ष्ा बुद्धिबहादुर गुरुङले बताए ।ट्रेकिङ व्यवसायी, पत्रकार, स्थानीय राजनीतिक दल, सभासद, पर्यटन व्यवसायीसहितको टोली यही फ्रेवुअरी २७ देखि सातदिने अभियानमा गोरखाबाट निस्केको थियो । नेपालको सबैभन्दा ठूलो मानिएको तनहुँको सिद्ध गुफाभन्दा गोरखाको स्वाँरामा रहेको सीता गुफा लामो र ठूलो रहेको स्थानीय धामी बरामले बताए ।