एक दुई जनाको व्यक्तिको कारण पुरै संगठन बदनामी गर्न मिल्दैन- खनाल

काठमाण्डौं- नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक दुई जना खराब व्यक्तिको कारण पुरै संगठनको बदनामी गर्न नहुने बताएका छन् । आज राजधानीमा ६३औ प्रहरी बिबसको उपलक्ष्यमा भएको एक कार्यक्रममा आईजीपी खनालले उक्त कुरा बताएका हुन् ।

जनताको शान्ति सुरक्षा कायम गर्न प्रहरी निरन्तर खटिरहेको भन्दै केहि एक दुई वटा असफलतासँग सिंगो प्रहरीको कामलाई तुलना गर्न नमिल्ने खनालको धारणा थियो । कम अक्सिजन हुने हिमालि जिल्लामा कठिन जाडोका बीच पनि १८ घण्टा खटिएका प्रहरीहरुको योगदानको स्मरण गराउदै आइजीपी खनालले गत बर्ष ९० प्रतिशत घटनाका अभियुक्तलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल भएको बताएका छन् ।

खनालले प्रहरी संगठन भित्र रहेर अनिमियतामा संलग्न प्रहरीलाई कारबाहीको दायरामा ल्याएर जवाफदेही कार्यसूचीकरणको अभियानलाई थप सशक्त बनाइएको पनि जानकारी दिए ।

आइजीपी खनालले भने “प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्छ” एक दुईजना प्रहरी कर्मचारीको दोष र केहि घटनामा सफलता पाउन नसकेको विषयलाई समग्र संगठनसँग जोड्ने र प्रहरीको कामलाई समग्र असफलताको रुपमा व्याख्या गरिँदा त्यसबाट हजारौं इमान्दार एबम कर्तव्यनिष्ठ प्रहरी कर्मचारीको समेत मानमर्दन हुने बताएका छन् ।

अशोज २५, २०७५ मा प्रकाशित