एसपी विष्टका छोरा किरणको प्रधानमन्त्रीलाई खुल्लापत्र

कंचनपुर कि निर्मला पन्तको हत्याकाण्डमा निलम्बित भएका एसपी डिल्लीराज बिष्टका छोरा किरणराज बिष्टले प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेका छन् । निर्मला हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नभएको तर सोहि हत्याकाण्डमा आफ्नो नाम जोडेर आफ्नो चरित्र हत्या तथा मानसिक दवाव दिइएको भन्दै प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेको उनले बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुक मार्फत उक्त खुल्ला पत्र लेखेका हुन् । खुल्ला पत्रमा किरणले आफु निर्दोष भएको तर केहि मिडियाले आफूप्रति सुनियोजित तरिकाले जनआक्रोश बढ्ने गरि तथ्यहीन, काल्पनिक र भ्रामक समाचार प्रकाशन गरि आफ्नो चरित्रहत्या गरेको बताएका छन् ।

निर्मलाको हत्या भएको दिन आफु महेन्द्रनगरको होटल ओपेरामा फोटो सुट कार्यक्रममा रहेको भन्दै उक्त घटनामा आफ्नो तथा परिवार कसैको पनि संलग्नता नभएको उनले प्रष्ट परेका छन् । आफु निर्दोष साबित हुँदाहुँदै पनि गलत आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको, दोष बिना नै DNA चेक गर्नु परेको, आफ्नो सामाजिक प्रतिष्ठा गुमेको र बेलाबेला मानसिक दवाव खेपिरहनु परेको भन्दै न्यायको लागी उनले प्रधानमन्त्री सामु माग गरेका छन् ।

अशोज २५, २०७५ मा प्रकाशित