कवितासँगै दिपावली शुभकामना आदानप्रदान कार्यक्रम

सुजन देवकोटा:
आउँदै गरेको दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । मधुवन साहित्यिक प्रतिष्ठान नेपलाको आयोजनामा शनिबार राजधानीको नयाँ बानेश्वर स्थित के एण्ड के कलेजमा सम्पन्न भएको उक्त कार्यक्रममा चौध जना कवि–कवयत्रीले आ–आफ्ना कविता वाचनसँगै शुभकामना साटासाट गरेका थिए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेको प्रमुख आतित्थ्य र संस्थाका संरक्षक डा. नवराज लम्सालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा युवा कवि निर्भिकजङ्ग रायमाझिले ‘रुखमुनिको छायाँ’, कवयत्री एवं श्रष्टा प्रतिष्ठान नेपालकी अध्यक्ष अमृता स्मृतिले ‘रिपोटर्रको जिन्दगी’, देवकी अभिलाषीले ‘वनमान्छे’, महेश क्षितिजले ‘वितेको वर्तमान र बादलको देश’, रामगोपाल आशुतोषले ‘एक्लो उपत्यका’, फूलमान बलले ‘आजका मान्छे’, चन्द्रवीर तुम्बापोले ‘पछिल्लो चित्रमा गाउँ’, भगवती बस्नेतले ‘निर्मला’, ठाकुर बेलबासेले ‘यात्रा आफ्नै खुट्टाको’, मणी लोहनीले ‘मृत्युको अघिल्तिर’, विप्लव ढकालले ‘गाली’, मोमिलाले ‘नगरबधुको वक्तव्य’, मञ्जु काँचुलीले ‘टाढाको म, सुख के हो ?’ र उषा शेरचनले ‘जीवन’ शीर्षकको कविता वाचन गरेका थिए भने शीतल कादम्मिनीले गजल गायन प्रस्तुत गरेकी थिइन् ।

वि.सं २०६६ साउन २१ गते स्थापना भएको संस्थाले आफ्नो स्थापना कालदेखि नै नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दसैँ अगि नयाँ कार्यसमिति चयन गरेको यस संस्थाले नयाँ कार्यसमितिको गठनपछि पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । तिहार, छठ लगायतका चाडबाडको बीचमा पनि कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागीताले गर्दा अझै बढी हौसला थपिएको संस्थाका अध्यक्ष जीवन खत्रीले बताए ।

यसैबीच स्वदेश तथा विदेशमा रहेर साहित्यको क्षेत्रमा क्रियाशील भइरहेको भन्दै यसै संस्थाका संथापक सचिव एवं वर्तमान प्रथम उपाध्यक्ष गौतम सागर राईलाई सोही कार्यक्रममा सम्मान गरिएको थियो भने आमन्त्रीत कवि–कवयत्रीहरूलाई मायाँको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष खत्रीले विगतमा १३ वटा पुस्तक र संस्थाकै ७ वटा पत्रिका प्रकाशन गरिसकेको यस संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमका साथसाथै अझै नयाँ कार्यहरू सञ्चालन गर्दै लैजाने र आगामी ५ वर्षसम्ममा संस्थाको दसलाखसम्मको अक्षयकोष खडा गर्ने सम्मको योजना प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि घिमिरेले अब आफूहरूको पुस्ता काठ पसेको मुला जस्तै भइसकेकाले नयाँ पुस्ताले यस्तै कार्यक्रमको आयोजना गरेर आफूहरूलाई सहभागी हुने अवसर जुराइदिए आफ्ना पुस्तालाई पनि साहित्यमा लागिरहन प्रेरणा मिल्ने भनाइ राखेका थिए । करिब दुई घण्टासम्म चलेको कार्यक्रममा करिब सय जनाको उपस्थिति रहेको थियो ।

कात्तिक १८, २०७५ मा प्रकाशित