काठमाडौं ७ मा उम्मेदवार नबन्ने विश्वप्रकाशको प्रष्ट

नेपाली कांग्रेसका प्रबक्ता विश्व प्रकाश शर्माले काठमाडौँ क्षेत्र नम्बर ७ मा हुन लागिरहेको उप निर्वाचानमा भाग नलिने घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजिनामा दिएपछि अब उक्त क्षेत्रमा नेकपा का नेता वामदेव गौतम उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । उक्त क्षेत्रमा नेता वामदेवलाई चुनावमा हराउन विश्व प्रकाश नै कांग्रेसबाट उमेदवार बन्नुपर्ने माग भईरहेको बेला प्रबक्ता शर्माले आफु उमेदवार नबन्ने प्रष्ट पारेका छन् ।

शर्माले सामाजिक संजाल टुवीटर मार्फत आफुले उमेदवारी नदिने प्रष्ट पारेका छन् । उनले व्यक्तिले शक्तिका खोजी गरिरहदा राजनैतिक पाटो र बाटोलाई भुल्न नहुने भन्दै झापामा चुनाव हारेको विश्व प्रकाश काठमाडौँ उमेदवार नबन्ने बताएका छन् । झापा क्षेत्र नम्बर १ मा नेकपाका उमेदवार राम कार्कीसंग पराजित भएका शर्मा नेपाली कांग्रेसका सशक्त नेताका रुपमा परिचित भएका छन् ।

बर्दिया क्षेत्र नम्बर ४ बाट पराजित भएका नेता गौतमले सांसद बन्न काठमाडौँ क्षेत्र नम्बर ७ का सांसदलाई राजिनामा गराएर चुनाबी मैदानमा होमिएपछी यतिबेला नेपाली राजनीति काठमाडौँ क्षेत्र नम्बर ७ मा तातिएको छ ।

अशोज २४, २०७५ मा प्रकाशित