बाम बुद्धिजीवी पद्मरत्न तुलाधरको निधन

सुजन देवकोटा/कात्तिक १९
बाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात भएपछि उनलाई कार्तिक ९ गते माईतिघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुमा समस्या हुनुका साथै उच्च रक्तचाप र मधुमेहले पनि ग्रसित थिए । त्यसैगरी पछिल्लो समय उनको फोक्सोमा पनि समस्या देखिएको थियो । न्यूरो अस्पतालमा उपचारत रहेकै अवस्थामा उनको मुटुले काम गर्न छोडेपछि उनलाई थापाथली स्थित नर्भिक अस्पतालमा लगिएको थियो । नर्भिकमा डाक्टरहरू पंकज जलान, रमेश चोखानी, यादव भट्ट लगायतको टिमले उनको स्वास्थ्य जाँच गरिरहेका थिए । मुटु र फोक्सोले एकैचोटी काम गर्न छोडेपछि आइतबार नर्भिक अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको छ ।

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका तुलाधर पूर्व स्वास्थ्य तथा श्रममन्त्री समेत हुन् । नेपाललाई शान्ति प्रकृयामा ल्याउनको लागि पनि उनको महत्पूर्ण भूमिका रहेको थियो ।

तत्कालीन बिद्रोही माओवादी र सरकारका बीचमा वार्ता गराउनको लागि मध्यस्थकर्ताको भूमिका खेलका तुलाधारले पछिल्लो समय वाम एकतामा समेत उत्तिकै जोड दिएका थिए । पत्रकारिता र साहित्य क्षेत्रमा पनि उत्तिकै सफल रहेका तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । स्वर्गीय तुलाधरको सोमबार शोभाभगवतीमा अन्त्यष्टि गरिने छ ।