लिगलिगे दौडको तयारी तीब्र, विजेतालाई श्रीपेच पुरस्कार

सुजन देवकोटा
गोर्खा- नेपाल एकीकरण हुनुपूर्वको बाइसी चौबीसी राज्यमा दौडेर राजा हुने चलन रहेको ऐतिहासिक जिल्ला गोरखाको लिगलिगकोटमा बिगतमा जस्तै यो वर्ष पनि लिगलिगे दौडको आयोजना गरिएको छ । दौडेर राजा हुने चलन भएको भएपनि नेपाल एकीकरणसँगै त्यो चलन हराएको थियो तर बिगत आठ वर्षदेखि यो परम्परालाई निरन्तरता दिइँदै आइएको छ । बडा दसैँको अवसर पारेर आयोजना गरिने यो दौड प्रतियोगिता यस वर्ष आगामी असोज २८ गते नवौ लिगलिगे दौड प्रतियोगिताका रूपमा सम्पन्न हुँदैछ ।

यस वर्षको लिगलिगे दौडको तयारी तीव्र गतिमा भइरहेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । ऐतिहासिक परम्परालाई जगेर्ना गर्नको लागि लिगलिगकोट विकास अभियानको गठन गरेर स्थानीयहरुले यो परम्परालाई निरन्तरता दिदै आएका छन् । दौड प्रतियोगितामा भाग लिनेले चेपे र मस्र्याङ्दीको संगमस्थल चेपेघाटबाट दौड सुरु गरेर १३.८ किलोमिटर दुरी पार गरी लिगलिगकोटसम्म पुग्नु पर्ने हुन्छ । यसरी दौडेर जो पहिले लिगलिगकोट पुग्छ उसैलाई राजा घोषणा गर्ने चलन छ ।

दौडमा प्रथम हुनेलाई श्रीपेच, नगद साठी हजार एकसय, द्वितीय हुनेलाई नगद पैंतीस हजार एकसय त्यसैगरी तृतीय हुनेलाई २५ हजार एकसय प्रदान गरिने पनि अध्यक्ष रानाले जानकारी गराए । प्रतियोगितमा सहभागी हुने र नवौँ स्थानसम्म हात पार्न सक्ने प्रतियोगीहरूलाई बिभिन्न राशिका नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडलको व्यवस्था रहेको पनि रानाले जानकारी गराएका छन् । पुरस्कार राशिमा भने विगतमा भन्दा यो वर्ष १०/१० हजारका दरले बृद्धि गरिएको छ ।

त्यसैगरी महिलाको लागि बडडाँडादेखि लिगलिगकोटसम्म ५ किलोमिटर दौडको पनि आयोजना गरिएको छ । यो चलन भने परम्परागत होइन । यहाँबाट सहभागी भएर प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १२ हजार ५, तेस्रो हुनेले ७ हजार ५ र चौँथो हुनेले ३ हजार ५ रुपैँया नगद सहित मेडल र ट्रफी पाउने छन् । यसपटक १५ देखि १८ वर्ष उमेर समूहकालाई लक्षित गरी बोहरा गाउँदेखि लिगलिगसम्म अर्को नयाँ प्रतियोगिता थपिएको अध्यक्ष रानाले बताए । त्यहाँबाट प्रतियोगितामा सहभागि भएर प्रथम हुनेलाई ५ हजार १ सय, द्वितीय हुनेलाई ३ हजार १ सय र तृतीय हुनेलाई २ हजार १ सयको साथमा मेडल र ट्रफीको व्यवस्था गरिएको पनि उनले बताए ।

दौडका लागि आवश्यक खर्च पर्यटन बोर्ड, पालुङ्टार नगरपालिका अन्य सहयोगि दाता वा विभिन्न संघ संस्थाबाट संकलन गरिने कुरा पनि अध्यक्ष रानाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने विदेशी नागरीकले ५ हजार, नेपाली नागरिकले १ हजार, लिगलिग बासी र महिलाहरूले ५ सय रुपैँया तिर्नु पर्ने छ भने स्थानीय छात्र छात्राले निशुल्क नाम दार्ता गराउन सक्ने छन् । गएको असोज १० गतेदेखि खुला भएको नाम दर्ता मिति आगामी २५ गतेसम्म रहने आयोजकले जनाएको छ । दौड प्रतियोगिता भने आगामी २८ गते बिहान ८ बजे चेपेघाटबाट सुरु हुने छ ।

अशोज २४, २०७५ मा प्रकाशित