मंगलबार राती क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना कतार विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रसिया विश्वकप फूटबलको उपविजेता बलियो टिम क्रोएसियालाई हराउन मेस्सीले एक गोल गरे । जुन पेनाल्टीमा सम्भव भएको थियो ।
बाँकी दुई गोल भने जुलियन अल्भारेजले दुई गोल गरे । अल्भारेज तिनै खेलाडी हुन्, जो ८ वर्षअघि मेस्सीको टिम फाइनल पुग्दा उनी केवल घरमा टिभीमा फूटबल हेरिरहेका थिए । तर ८ वर्षपछि उनै मेस्सीलाई विश्वकप उपाधि दिलाउने यात्रामा सबैभन्दा महत्वपूर्ण खेलाडी साबित भइरहेका छन् ।
मेस्सी फाइनल पुग्दा यस पुस्ताकै सर्वोत्कृष्ट क्रोएसियाका कप्तान लुका मोड्रिक भने सेमीफाइनलबाटै बिदा भएका छन् ।
यो मेस्सीका लागि दोस्रो फाइनल हो । यसअघि सन् २०१४ को विश्वकपमा पनि मेस्सीको टिम अर्जेन्टिना फाइनल पुगेको थियो । तर त्यतिबेला जर्मनीले मेस्सीलाई स्तब्ध पारेको थियो ।

त्यसपछि मेस्सीको जीवनमा धेरै उतारचढाव आयो । उनले संन्न्यास घोषणा गरेका थिए । सन् २०१६ को कोपा अमेरिकामा तेस्रोपटक फाइनलमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास घोषणा गरेका थिए ।
उनको संन्न्यास घोषणाले विश्वलाई चकित पारेका थिए । अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन नसक्दा उनी जति निराश थिए, त्यसले उनलाई भित्रैदेखि टुटाएको थियो । तर अर्जेन्टिनाका प्रधानमन्त्रीदेखि विश्वभरका फूटबलप्रेमीले ठूलो आग्रह गरेपछि मेस्सीले संन्न्यास फिर्ता लिएर अर्जेन्टिनाको जर्सीमा मैदान फर्किएका थिए ।
जसकारण उनले जित्न नसकेको कोपा अमेरिका उपाधि गएको वर्ष जिते । त्यसमा पनि फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको थियो । कोपा अमेरिकापछि मेस्सीको ध्यान विश्वकपका लागि थियो ।
मंगलबार कतारको लुसेल रंगशालामा ब्राजिल र पोर्चुगललाई हराएको क्रोएसियालाई तीन गोल खुवाएर घर पठाउनु मेस्सीको सफलता मात्रै होइन, सुनको लेपन लगाइएको ‘गोल्डेन ट्रफी’ चुम्ने अन्तिम अवसर पनि छ ।
अब फाइनलमा मेस्सीको टिमले फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमीफाइनल बुधबार राती हुदैँछ । फ्रान्स रसिया विश्वकप फूटबलको विजेता हो भने मोरक्को पहिलोपटक सेमिफाइनल पुगेको टिम हो ।
