धनगढी ।
चर्चित साङ्गीतिक समूह नेपथ्य व्यान्डसङ्गको सहकार्यमा मानव सेवा आश्रमले पौष ३ गते धनगढीको रङ्गशालामा हुने लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ ।
उक्त कन्सर्ट मसिर १६ गते विराटनगरबाट सुरु भई १९ गते वीरगंञ्ज २२ गते हेटौडा २५ गते चितवन र २९ गते नेपागंजमा भव्यताका साथ सम्पन्न भैसकेको छ । सोही सिलसिलामा मानव सेवा आश्रम कैलाली शाखा धनगढीको आयोजनामा पुस ३ गते धनगढी रङ्गशालामा हुन लागेको हो । यो कार्यक्रम मानव सेवा आश्रमको आयोजनामा भएको सङ्गीत यात्रा अन्तर्गतको छैठौ कार्यक्रम हो ।
मानवताका लागी सङ्गीत भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको उक्त लाइभ कन्सर्ट मंसीर १६ गतेबाट भएको कार्यक्रम पूस १६ गते काठमाण्डौमा समापन गरिने छ । सोही क्रममा आश्रममा आश्रित मानवहरूको खाना, नाना, र छानाको व्यवस्थापनका साथै निर्माणाधीन भवन सम्पन्न गर्न र अक्षयकोष स्थापनाका लागी सहयोग सङ्कलन गर्ने उद्देश्य बोकेर यस पटक नेपालका प्रमुख १० सहरहरूमा नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागिएको मानव सेवा आश्रमले जनाएको छ ।
उक्त कार्यक्रममा विशेष गरी स्थानीय पालीका धनगढीले पूर्ण रूपमा साथ सहयोग गर्ने प्रतिबद्धता गरेको र प्रदेश सरकारको पनि उतिकै साथ रहेको मानव सेवा आश्रमका संथापक एवं संयोजक राम जि अधिकारीले बताएका छन् ।
धनगढी पछि आगामी सङ्गीत यात्रा पूस ६ गते सुर्खेत खुल्लामञ्च ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम दिन १६ गते अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात काठमाण्डौको भृकुटीमण्डपमा कन्सर्ट गरी समापन हुनेछ ।