धनगढी ।
सुदूरपश्चिम प्रज्ञा—प्रतिष्ठानको आयोजनामा २१० औं भानुजयन्तीको अवसर पारेर प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ बाट सुपका चार स्रष्टालाई सम्मानित गरिएको छ । धनगढीमा साहित्यिक एबम् सांस्कृतिक उत्सव आयोजना गरेर सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ बाट सुपका चार स्रष्टालाई सम्मानित गरेको हो ।
पचहत्तर हजार नगदसहित पुरस्कृत हुनेमा संगीत तथा नाट्य तर्फ वरिष्ठ चलचित्रकर्मी अछामका उदयसिंह बोहरा, ललितकला तर्फ डोटीका प्राज्ञ ताराप्रसाद ओझा, लोकसंस्कृति तर्फ डेउडा गायक एबम् संस्कृतिकर्मी कैलालीका सुरत रावत डोटेली कान्छा र साहित्य तर्फ कञ्चनपुरका कवि सृजन श्रीलाइ सम्मान गरेको हो । यसैगरि प्रादेशिक प्रतिभा सम्मानबाट नगद पन्ध्र हजारबाट सम्मानित हुनेमा बैतडीका कवि कर्ण दयाल, थारू गायक कैलालीका मनिराम चौधरी र अछामका विमला शाह साउँद रहेका छन् ।
समारोहमा कैलाली जनपुस्तकालय धनगढीले प्रदान गर्ने जसुन्धरा राष्ट्रिय छन्द पुरस्कारबाट छन्दनायक पोखराका माधब बियोगी, ईश्वरी पार्वती मुडभरी सामाजिक अभियन्ता राष्ट्रिय पुरस्कारबाट अत्तरियाका लोकराज पाण्डेय आगो, शिब—बीमा जेहन्दार छात्रबृत्ति पुरस्कारबाट धनगढी ३ का प्रदीप जोशी र साबित्री—कमल राष्ट्रिय लोक संस्कृति पुरस्कारबाट अछामका उप प्रा.डा. देवेन्द्र भट्ट सम्मानित भएका छन् ।
सदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका ऊपकुलपति संस्कृतिविद् डा. टीएन जोशीको सभापतित्वमा भएको भव्य समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, डीआइजी भरत बोहरा, शिक्षाविद् प्राडा हेमराज पन्त, ईश्वरीय विश्वविद्यालय धनगढीकी प्रमुख सञ्चालिका ब्रम्हाकुमारी हीरा, वरिष्ठ कवि मनिराज जोशी, प्राज्ञ वासुदेव पाण्डेय, सुप कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य, कैलाली जनपुस्तकालयका सचिब टंक जोशी, प्राध्यापकहरू, पत्रकार, लेखक, साहित्यकारहरू र राष्ट्रिय कलाकारहरूको उपस्थिति थियो । तीन सय भन्दा बढी साहित्यप्रेमीको सहभागिता रहेको समारोहमा स्रष्टाहरूले आफ्ना कला र प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक संयोजन सुप कला प्रतिष्ठानका महासचिब गुणाकर पनेरूले गरेका थिए भने सञ्चालन कानून अधिकृत दानबहादूर सुनार र कैलाली जनपुस्तकालयका सचिब टंक जोशीले गरेका थिए। कार्यक्रममा गायिका हेमन्ता भट्टराईको गीति एल्बम र कवि गंगाराम कडेलको कृति आमा लोकार्पण गरिएको थियो ।