
जनकपुरधामः नेपाल भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ । सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलाको हिजो (शनिबार) राति गोली हानी हत्या गरेका हुन् ।
उनिहरुले महिलालाइ राति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।


घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।
भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।
नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताएका छन् ।
