
काठमाडौंः टेलिकमको क्षमता अभिवृद्धिका लागि व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा अर्थमन्त्री डा। प्रकाश शरण महतले जोड दिएका छन् । नेपाल टेलिकम वर्कर्स युनियनको ३२ ओेँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री महतले सो कुरामा जोड दिएका हुन् ।
उनले वर्कर्सहरुको जायज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्ने र उनीहरू काम गर्ने हुन्, उनीहरूलाई धेरै सुविधा दिनु हुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने बताएका छन् ।

सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री महतले भने, “ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको छ । प्रविधिमा छिटो छिटो विकास भइरहेको छ । यो परिवर्तनसँगै नेपाल टेलिकमले आफूलाई अपडेट राख्ने चुनौती छ । सफ्टवेयरमा एकदमै छिटो अपडेट हुनुपर्ने अवस्था छ ।”

स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटलको उपयोग गरेर लागत घटाउनुपर्ने आवश्यकता रहेको मन्त्री महतले औँल्याएका छन् । “शिक्षामा हामीले यही हिसाबले अगाडि बढ्न सकेनौँ भने त्यो प्रतिस्पर्धी हुँदैन । यी तमाम हिस्सामा नेपाल टेलिकमको उपस्थिति छ । पहिले टेलिकमको मात्र मनोपोली थियो, तर अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।” उनले भने, “स्वाभाविक रूपमा निजी क्षेत्र आक्रामक हुन्छ । उनीहरूको निर्णय प्रक्रिया छिटो छरितो पनि हुन्छ । राज्य संरक्षित कम्पनीहरूमा थोरै कानुन झन्झट हुन्छन् ।”
“व्यवस्थापकीय समस्या सरकारले हटाउनुपर्ने आवश्यकता छ । क्षमता वृद्धिका लागि टेलिकम आफैले हटाउन सक्ने समस्या पनि होलान् ।” मन्त्री महतले भने, “त्यसैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता छ । टेलिकमको व्यवस्थापन अपडेट भइराख्नु पर्नेछ । कुनै समयमा मैले यति पढेको थिए, संस्थालाई म सधैँ हाक्नसक्छु भन्ने अवस्था अब रहेन । प्रविधिको विकासले गर्दा हामीले हरेक दिन पढिराख्नुपर्ने भयो ।’
अहिलेको अवस्थामा हामीले हरेक काम सँगसँगै विद्यार्थी हुन पनि आवश्यक रहेको बताउँदै, मन्त्री महतले भन, “नेपाल टेलिकम वर्कर्स युनियनले यसको अगुवाइ गरोस् भन्ने चाहन्छु । सञ्चालन र उत्पादनमा जोडिएका साथीहरूले अधिकारको मात्र कुरा गर्नु भएन, यसरी हामी परिवर्तन ल्याउँछ, यसरी हामी योगदान दिनसक्छौं, यसरी हामी टेलिकमको क्षमता बढाउँछौँ, यसरी हामी प्रतिस्पर्धी हुन्छौ र यसरी हामी टेलिकमको शाखा बचाएर राख्छौँ भन्ने योजना हुनुपर्छ ।”
