
आफ्ना कागजातहरू अरु कसैलाई दिँदा सावधानी अपनाउन नेपाल प्रहरीले सबैसँग आग्रह गरेको छ।
प्रविधि दुरुपयोग गरी बेटिङ, ठगी लगायतका कानूनविपरितका काम गर्नमा अन्य व्यक्तिका परिचयपत्रलगायत कागजात प्रयोग भइरहेको भन्दै प्रहरीले सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको हो।

यस्ता गतिविधि भए प्रहरीलाई तत्काल जानकारी दिन आग्रह गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप दुईजना सट्टेबाजलाई नियन्त्रणमा लिएको छ।

टोलीले भक्तपुर नगरपालिका—१६ घर भई चाँगुनारायण ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर—१२ घर भई सूर्यविनायक आदर्शटोल बस्ने २५ वर्षका अजय भेलेलाई पक्राउ गरेको हो।
सुनिलले कारोबार गर्ने २३ मध्ये ७ बैंकबाट प्राप्त भएको विवरणमा एक वर्षको अवधिमै २ करोड ४५ लाख ७१ हजार रूपैयाँ कारोबार गरेको खुलेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका अर्का एजेन्ट अजयको १९ मध्ये ५ बैंकको विवरणमा ६ महिनामा ६० लाख २९ हजार कारोबार गरेका कोइरालाले बताए।
उनीहरूले अनलाइन बेट खेलाडीहरूमध्येबाट बढी रकम हारेका व्यक्तिको पहिचान गरी विभिन्न प्रलोभन देखाई इमेल पठाई एजेन्ट बन्न प्रोत्साहित गर्ने गरेका थिए।
गत एक वर्षदेखि सट्टाबाजी गर्ने एजेन्टको रुपमा काम गर्न थालेका चौगुठी र भेलेले कारोबार व्यवस्थापन गर्न रेड्डी नामक एप बनाएर मोबाइलमा इन्स्टल गर्न लगाई कारोबार गर्ने गरेको खुलेको छ।
यसअघि अनुसन्धान कार्यालयको टोलीले मंसिर २८ गते लमजुङ घर भई काठमाडौंको टोखा बस्ने २६ वर्षका सुजन गौलीलाई नियन्त्रणमा लिएको थियो। उनले विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीबाट ७ करोड ७२ लाख ८९ हजार कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।
