पीडिप पक्षलाई क्षतिपुर्ति दिने सहमतिपछि कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो
बिहानैदेखि राजमार्ग अवरुद्ध पारिएकोमा भर्खरैबाट सडक खुलाइयो
धनगढी ।
कैलालीको गोदावरी नगरपालिकामा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। बिहानैदेखि राजमार्ग अवरुद्ध पारिएकोमा भर्खरैबाट सडक खुलाइएको प्रहरीले जनाएको छ।
बुधबार बिहान जिल्लाको गोदावरी नगरपालिकास्थित लालपुरमा भएको दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। दुर्घटनामा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो। सोही घटनालाई लिएर स्थानीयले विरोध गर्दै सडक बन्द गरेका थिए।
आज लालपुरमा पूर्वबाट पश्चिमतर्फ आइरहेको सु.प.प्र. ०१००१ क. २०२० नम्बरको टिप्परले सु.प.प्र. ०१००१ ह. ४९१८ नम्बरको अटोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो। टिप्परको ठक्करबाट अटोमा सवार ३ वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको हो। ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु हुदा उनको मृत्यु भएपछि हरैयामा तनाव उत्पन्न भएको थियो। उनकी २९ वर्षीया आमा पेन्टी ठकुल्ला पनि दुर्घटनामा घाइते भएकी छन्। उनको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। अटोचालक २८ वर्षीय मोहन बोहरा पनि घाइते भएका छन्।
टिपर र चालक धनगढी उपमहानगरपालिका ७ बस्ने ४२ वर्षीय प्रदिप चौधरी र टिपरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। पीडिप पक्षलाई क्षतिपुर्ति दिलाउने, घाइतेको उपचार गर्ने र दुर्घटना क्षति भएको अटो मर्मत गर्ने सहमतिपछि सडक खुलाइएको प्रहरीले जनाएको छ। यसअघि दिउँसो प्रहरीले बल प्रयोग गरेर सडक खुलाउन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको थियो। झडपमा प्रहरीले ३९ राउण्ड अश्रुग्यास प्रहार पनि भएको थियो।