आज पनि सत्ता गठबन्धनको बैठक बस्दै, प्रचण्डलाई प्रम बनाउन तयार होला त गठबन्धन ?

सत्ता गठबन्धनको बैठक आज (शुक्रबार) पनि बस्दैछ । हिजो बिहीबार गठबन्धनका तीन शीर्ष नेताहरुको बैठकले शुक्रबार पनि बैठक बसेर प्रमुख पदहरुको भागबण्डामा सहमति जुटाउने तय गरेकामा सोही अनुसार छलफल हुन लागेको हो । यद्यपि हालसम्म बैठकको समय भने तय भइनसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा पुस १० गते सकिँने हुदा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका नेताहरु सक्रिय बनेका हुन् । सत्ता गठबन्धनमा सरकारको पहिलो कार्यकालको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी प्रचण्डले गर्दै आएका छन् । यस्तै कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी गर्दै आएको छ । एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दावी गरेको पृष्ठभूमिमा गठबन्धनमा सहमति जुटाउनका लागि प्रयास भइरहेको हो ।

बिहीबारको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र औपचारिक प्रस्ताव गरेका थिए । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको उक्त छलफलका क्रममा प्रचण्डले यस्तो प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । प्रचण्डको उक्त प्रस्तावमा देउवाले छलफल गर्न सकिने जवाफ दिएको स्रोतको भनाइ छ ।

बिहीबारमात्रै प्रचण्ड संसदीय दलको नेता चयन भएका थिए । यस्तै कांग्रेसका सभापति देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि आ–आफ्नो पार्टीबाट संसदीय दलको नेता चयन भइसकेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा अब दुई दिनमात्रै बाँकी रहेको छ ।

यसैबीच प्रचण्डले बिहीबार पार्टीको बैठकमा पहिलो कार्यकालको प्रधानमन्त्रीमा आफ्नो दाबी रहने ब्रिफिङ गरेका थिए । ‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ’, पार्टी केन्द्रीय कार्यायल पेरिसडाँडामा बिहीवार बसेको पदाधिकारी बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले भने । कांग्रेस संसदीय दलमा रामचन्द्र पौडेलले देउवालाई प्रस्ताव गर्नुले गठबन्धनमा सत्ता साझेदारीमा सहज संकेत देखिएको प्रचण्डले बताएका थिए ।

सम्बन्धित
Loading...