
कञ्चनपुरः दोदा र मोहना नदी गाउँ पस्दा कञ्चनपुरका एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारि दिए ।

बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो । महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा पनि कटान सुरु भएको छ ।

त्यस्तै, सशस्त्र प्रहरीले स्याली नदी र ओदाल नदीको बाढीमा फसेका शुक्लाफाँटा र कृष्णपुरका चारजनाको उद्धार गरेको छ । घाँस काट्न गएका तथा खेतबारीमा काम गरेर घर फर्किने क्रममा बाढी आएपछि उनीहरू त्यहि फसेका थिए ।
