बैतडीमा अस्पताल निर्माणको विषयमा झडप, ३५ जना घाइते
अस्पताल निर्माणका बिषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप
बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप हुदा ३५ जना घाइते भएका छन् । वडा १ र वडा नं ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीयबासिन्दाहरुले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।
त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका थिए।
हिजो बिहीबार दुवै पक्षले नाराबाजी गर्दा झडप भएको हो । झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने उनीहरुमध्ये १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । वडा नं १ को समूहले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन् ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि वडा नं ७ का घाइते मात्रै पुगेका बताइएको छ । वडा नं १ तर्फका १० जना घाइते भएका स्थानीय विजयसिंह नायकले बताए ।
अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकीन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी सहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ ।
अस्पातलको नाममा वडा नं १ र ७ दुवै ठाउँमा जमीन हुँदा कुन ठाउँमा बनाउने भन्ने बिषय अहिले सम्म सुल्झेको छैन् । २०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् ।
अस्पतालकै बिषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।