चिसोमा पनि राहदानी विभागमा सेवाग्राहीको भीड
त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन
राहदानी विभागमा चिसो मौसममा पनि बिहानैदेखि सेवाग्राहीहरूको भीड लागेको छ।
केहीदिन यता काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो। शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरूले राहदानी लिइरहेको देख्न सकिन्छ।
शुक्रबार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझैपनि घण्टौँ लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ।
छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरु उल्लेख्य रहेका छन्। राहदानी विभागले पुस ५ गतेदेखि अपरान्ह साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ।
यसअघि दैनिक ११ बजेदेखि बुकिङ शुरु हुने गरेको थियो। सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भनेपनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरू बताउँछन्।