फेरि फैलिँदै छ कोरोना, थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल
परीक्षणमा कमी नआओस् भन्ने विषयमा स्वास्थ्य विज्ञहरूले सरकारको ध्यानाकर्षण गराए
विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन अपिल सार्वजनिक गरेको छ । छिमेकी मुलुक चीन, भारतलगायत जापान, अमेरिका, अर्जेन्टिना, ब्राजिल, जर्मन र दक्षिण कोरियाजस्ता विश्वका विकसित देशहरूमा संक्रमण फैलिएसँगै स्वास्थ्य मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी थप सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेको हो ।
मन्त्रालयले नेपालको खुला सिमाना र विदेश आवात जावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको उल्लेख गर्दै विज्ञप्तिमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, नियमित साबुनपानी तथा सेनिटाइजरले हात धुन र बुस्टर डोज लगाउन छुटेकाहरूका लागि बुस्टर डोज लगाउनसमेत आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत उल्लेख गरिएको छ । एक सातामा एकाएक विश्वका विभिन्न मुलुकमा कोराना संक्रमितको संख्यामा वृद्धि हुँदा ३६ हजारभन्दा बढी संक्रमित हुनुका साथै १० हजार व्यक्तिको ज्यान गएको तथ्यांक सार्वजनिक भएसँगै सरकारले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै आम नागरिक, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीलगायतका सम्पूर्ण निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विज्ञहरूले कोभिड संक्रमण दर यही अवस्था बढेर गयो र थप सतर्कता अपनाउन सकिएन भने सन् २०२३ मा कोरोनाको अर्को विस्फोट हुन सक्ने चेतावनी दिएका छन् । सरकारले छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट बी.एफ. ७ को संक्रमण नेपालमा हालसम्म नदेखिएको भए पनि यो भेरियन्ट अरू भेरियन्टभन्दा तीव्र रूपमा सर्ने भएकाले थप सतर्कता अपनाउन अनुरोध गरेको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिएसँगै भारतले अन्तर्राष्ट्रिय उडानबाट आफ्नो देश छिर्ने यात्रुमध्ये २ प्रतिशतलाई कोरोनाको ‘रेन्डम चेक’ गर्ने भएको छ ।
बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले अन्तर्राष्ट्रिय उडानबाट देशभित्र छिर्ने यात्रुहरूको ‘रेन्डम चेक’ गर्न स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई निर्देशन दिएको हो । सो निर्देशनपछि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ट्रावल गाइड लाइन जारी गरेको छ ।
नेपालमा पनि विगतमा जस्तो अक्सिजन, औषधि, खोप, जनशक्ति, अस्पताल बेड, परीक्षणमा कमी नआओस् भन्ने विषयमा स्वास्थ्य विज्ञहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।