
काठमाडौंः अर्थमन्त्री डा. प्रकाश शरण महतले बद्लिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री महतले सो आग्रह गरेका हुन् ।
सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको बताउँदै उनले भने, “मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।”

हाम्रा आयातकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री महतले स्पष्ट पनि पारेका छन् । “मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।” उनले भने, “राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ । यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्याङ्कन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्याङ्कन गर्नुपर्छ ।”

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री महतले स्पष्ट पारे । वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री महतले भने, “त्यहाँ ठुलो एक्स(रे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम रु भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।”
इमानदार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने मन्त्री महतले बताएका छन् । “लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभाबी दुख दिएर काम गर्नुपर्छ भनिएको छैन” मन्त्री महतले भने, “कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ ।”
साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमानदार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने मन्त्री महतले बताए ।
अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौँ, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री महतले बताए । उनले भने, “जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यावसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नु हुँदैन ।”
