आज नयाँ सरकार गठनको समयसीमा सकिँदै, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्रीको टुंगो लागेको छैन
शनिबार अबेर सम्मको छलफलमा कांग्रेस र माओवादी दुबैले पहिलो कार्यकाल आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिईन् ।
राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ। तर, सत्ता गठबन्धनमा भावी प्रधानमन्त्री टुंगो लागेको छैन। भावी प्रधानमन्त्रीका लागि गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी छ।
शनिबार अबेर सम्मको छलफलमा कांग्रेस र माओवादीले पहिलो कार्यकालको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने दाबी गरेपछि सहमति जुटेन। सहमति नजुटेपछी फेरी आज बिहान १० बजे बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दाबी पेस नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।