चितुवाको आक्रमणबाट बर्दियाकी एक महिला घाइते
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।
घाँस काट्नका लागि सामुदायिक वनमा पुगेकी गुलरिया नगरपालिका—४ तुलसीपुरकी ५२ वर्षीया सरला आचार्य खत्रीलाई आइतबार अपराह्न चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराले जानकारी दिएका छन् ।
चितुवाको आक्रमणबाट उनको टाउको र गर्धनमा चोट लागेको छ । अहिले गुलरियास्थित जिल्ला अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोहोराले बताए । साथै उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
चितुवाले आक्रमण गर्दा उनी केही बेर हँसियाले आक्रमण गर्ने प्रयास गर्दा त्यहाँ रहेका अरु महिलाहरूले हो हल्ला गरेपछि चितुवा भागेको थियो ।
केही दिनयता सदरमुकाम आसपासका सामुदायिक वनमा चितुवाको चहलपहल बढ्न थालेको छ । विशेषगरी सन्तोषी सामुदायिक वन, भारतीय कतरनियाघाट वन्यजन्तु आरक्षबाट चितुवा बाहिर निस्कने गरेको स्थानीयले बताएका छन् । दुई वर्षअघि सन्तोषी सामुदायिक वनबाट निस्केको चितुवाले गुलरिया—५ का चन्द्रकान्त पौडेलले पालेका २८ वटा बाख्रा एकैपल्ट मारेको थियो ।