धनगढी ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बैंकहरूले बढाएको ब्याजदर घटाउनुपर्नेलगायत माग राखी दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।
बैंकहरूको उच्च ब्याजदर, राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सवारीसाधनको कर्जामा कायम गरिएको जोखिम भार र एलसी खोल्नुअघि नै आयातका लागि मार्जिन राख्नुपर्नेलगायत विषयमा सरकारले कुनै चासो नदिएको भन्दै नाडाले आन्दोलनलाई निरन्तरता दिने जनाएको हो ।
राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन, ०७९ तत्काललाई स्थगन गर्नुपर्ने, एलसी खोल्नुअघि कायम गरिएको मार्जिनका सन्दर्भमा पहिलेकै व्यवस्था लागू गर्नुपर्ने, बैंकको ब्याज तथा प्रिमियम दर नियन्त्रणमा राख्न आवश्यक व्यवस्था गर्नुपर्नेलगायत माग नाडाको छ । चितवनको सौराहामा पुस ८ र ९ मा भएको अटोमोबाइल व्यवसायीको बृहत् भेला तथा केन्द्रीय कार्यसमितिको बैठकले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।
नाडाले आन्दोलनसँगै वार्ता पनि एकसाथै अघि बढाउने जनाएको छ । छलफलमा सरकारले विगत ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यानजस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायी धमाधम पलायन हुने अवस्था रहेको बारेमा व्यवसायीले गुनासो गरेका थिए । मुलुकको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान अवस्था र सम्भावनालगायतबारे पनि नाडा केन्द्रीय समिति र सातै प्रदेश एसोसिएसनबीच छलफल भएको थियो ।
