
धनगढी ।
कैलालीको धनगढीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित ५ जना पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका वडा नं. ४ बसपार्कबाट एक लाख बयालिस हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटी सहित उनीहरू पक्राउ परेका हुन् ।

धनगढीको साल्ट ट्रेडिङ कर्पोरेसन अगाडीबाट कैलाली जिल्ला चुरे गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ५५ का लाल बहादुर साउँदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली दरको नोट ४ थान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डि.एस.पी तथा प्रवक्ता वेद प्रकाश जोसीले बताए ।

यस्तै, उक्त व्यक्तिहरूको खोज तलास गर्ने क्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुर स्थित एस एस होटेलमा कोठा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ३३ को लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका वडा नं. १० बस्ने वर्ष ३० को करन सिंह धामी र बडिकेदार गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ५० को मोहन सिंह बोहरा समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा कैलालीको धनगढी उप–महानरपालिका वडा नं. १३ स्थित कोठा भाडामा लिई बस्ने डोटीको शिखर नगरपालिका वडा नं. १० बस्ने वर्ष ३० को करन सिंह धामी बस्ने गरेको (डेरा) कोठाको खानतलासी गर्दा उक्त कोठामा ऐ।ऐ।बस्ने वर्ष १९ को टेकेन्द्र धामीलाई समेत फेलापारि सो कोठाको पलङ खटियाको सिरानी मुनी लुकाई राखेको अवस्थामा नेपाली दर रु। १,०००।– दरको नोटहरू थान १३८ (एक लाख अठतिस हजार) गरी जम्मा १,४२,०००।–(एक लाख बयालिस हजार) , खानतलासी कै क्रममा सोही खटियाको प्लाई मुनि रहेको बाक्सा भित्र जेब्रा झोलामा जनावर(बाघ)को जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू ५ किलो ५३० ग्राम, बैङ्क तथा आई एम ई भौचर तथा चेकहरू, प्लास्टिक भित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुडी वनस्पतिका बोक्राहरू (आइएन के) र फलामका टुक्राहरू समेत फेलापारि बरामद गरी निज लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी ,मोहन सिंह बोहरा र टेकेन्द्र धामीलाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
