
कञ्चनपुर ।
भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । तर भारतबाट घर फर्किने नेपालीलाई भने नाकामा परीक्षणदेखि स्वास्थ्य मापदण्डमा कुनै सावधानी अपनाइएको छैन । यति मात्रै नभई, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पीसीआर ल्याब पनि बन्द छ ।

अहिले भारतबाट दैनिक ३÷४ सयको संख्यामा नेपाली आवतजावत गरिरहेका छन् । तर उनीहरूको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिँदैन । ज्वरो आएका तथा कोरोनाको लक्षण देखिएकाहरूको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ । ‘अहिले भारतबाट घर फर्किनेमा लक्षण दखिएकाहरूको मात्रै परीक्षण भइरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले भने, ‘संक्रमण नदेखिएकाले परीक्षण कम गरिएको हो ।’

गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार करिब ४ महिनादेखि भारतबाट फर्किनेमा संक्रमण देखिएको छैन । सोमबार पनि ११५ जनाको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले बताए । उनका अनुसार दैनिक ३ सय बढी नेपाली नाकाबाट फर्किरहेका छन् ।
जनशक्ति अभाव र अन्य परीक्षणका लागि सामग्री अभावका कारण ल्याब बन्द रहेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए । उनका अनुसार विगतमा कोरोना संक्रमणकै बेला राखिएका कर्मचारीको करार अवधि सकिएपछि अहिले ल्याबमा काम गर्ने कर्मचारी छैनन् ।
‘अहिले जनशक्तिको पनि अभाव छ, अन्य आवश्यक सामग्री पनि छैन,’ डा. भट्टले भने, ‘संक्रमित पनि आएका छैनन् ।’ उनले पीसीआर ल्याब सञ्चालन र कोरोना संक्रमितको उपचारका विषयमा प्रदेशमा छलफल भइरहेको बताए । अहिले संक्रमित आएमा एन्टिजेन परीक्षण गरिने उनले बताए । मेसु डा. भट्टले संक्रमित देखिएमा होम आइसोलेसनमा राख्ने र गम्भीर संक्रमित भएमा अस्पतालमै राखेर उपचार गरिने बताए । आइतबार जिल्ला कोभिड संक्रमण व्यवस्थापन समितिको बैठक बसेर संक्रमण रोकथाम तथा उपचारका विषयमा छलफल भएको उनले बताए ।
पीसीआर परीक्षणसंँगै उपचारका विषयमा प्रदेश र केन्द्रबाट पनि आवश्यक निर्णयसंँगै निर्देशन आवश्यक हुने उनले बताए । महाकाली प्रादेशिक अस्पतालमा दोस्रो र तेस्रो लहरको कोरोना संक्रमणकै बेला अक्सिजन प्लान्टसमेत जडान गरिएको छ । आइसोलेसन कक्षसमेत निर्माण गरिएको छ । अस्पतालनजिकै करोडौं लगानी गरेर निर्माण गरिएको आइसोलेसन केन्द्र पनि अलपत्र छ । केन्द्र सञ्चालन अन्योलका कारण अलपत्र परेको हो ।
