
मेलौली नगरपालिकाको कार्यालयमा पाँच दिनदेखि लगाइएको ताला खुलेको छ।
मंगलबार बैतडी जिल्लाका सुरक्षाकर्मी र तालाबन्दी गराउने पक्षबीच बसेको बैठकपश्चात् नगरपालिका कार्यालयमा लगाइएको ताला खुलाउने निर्णय भएको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक योगेश खत्रीले बैठकको निर्णयअनुसार नगरपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो।
पाँचदिन अघि मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा वडा नम्बर १ र ७ का स्थानीयबीच विवाद पछि झडप भएको थियो। सोहि झडपमा स्थानीय ३५ जना घाइते भएका थिए।

घटनापछि थप अप्रीय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक खत्रीको नेतृत्वको टोली पनि पाँच दिनदेखि मेलौलीमा छ।
दुवै वडाका स्थानीयहरूले आ—आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राख्दै सडक—यातायात बन्ददेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।
मंगलबार बसेको बैठकले नगर प्रमुख र उपप्रमुख नगरपालिकामा नफर्किउञ्जेल यातायात र तालाबन्दी खुलाउने सहमति भएको प्रहरी निरीक्षक खत्रीले बताए।
‘मेयर नआएसम्म कुनैपनि आन्दोलन नबढाउने, झडप भएको दिनको घटनाको छानविन हुने लगायतका निर्णय भएको हो,’ उनले भने।
मेलौली नगरपालिकाका सूचना अधिकारी सपना कार्कीले मेलौलीमा आधारभुत अस्पताल बनाउने विषयमा लामोसमय देखि विवाद छ।
सोही विवादका कारण अस्पताल निर्माण भइसक्नुपर्ने समयसम्म यो योजना अलपत्र अवस्था छ। १५ शैय्याको अस्पताल निर्माण गर्ने विषयमा वडा नम्वर १ मा डिपिआर समेत भइसकेको त्यहाँका स्थानीयको दाबी छ।
