लुम्बिनीले फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गर्‍यो

धनगढी ।
लुम्बिनी अल स्टारले नेपाल टी—२०मा बुधबार फार वेस्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ । लुम्बिनीको यो लगातार चौथो जित हो ।

जितसँगै लुम्बिनी आठ अंकसहित शीर्ष स्थानमा रहेको छ । सुपर ओभरमा लुम्बिनीका लागि किशोर महतोले १९ रनको स्कोरको रक्षा गरेका थिए र फार वेस्टले ९ रन मात्र बनाउन सकेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गर्दै लुम्बिनीले १ विकेट गुमाएर १९ रन बनाएको थियो । त्यसमा लहिरु मलिन्थाले करण केसीको बलमा २ छक्का प्रहार गरे । निर्धारित २० ओभरका खेलमा स्कोर बराबरी भएपछि सुपर ओभरको आवश्यक परेको थियो । फार वेस्ट एक जितसँगै दुई अंकमै सीमित रहेको छ ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको फार वेस्टले ६ विकेट गुमाएर २० ओभरमा १ सय ३७ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याटर देव खनालले सर्वाधिक रन बनाए । उनले ४२ बलमा ४८ रन बनाए र त्यसमा ५ चौका सामेल थियो । यस्तै कप्तान हस्मुतल्लाह साहिदीले २९ बलमा ३२ रन बनाए ।

त्यसको जवाफमा लुम्बिनीले पनि २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ र बनाएको थियो । एक समय ८५ रन बनाउँदासम्म ७ विकेट गुमाएको लुम्बिनीका लागि गुल्सन झाले नटआउट रहेर २४ बलमा ३६ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै विपुल शर्माले रनआउट हुन अगाडि २७ बलमा ३१ रन जोडे ।

सम्बन्धित
Loading...