धनगढी । सेती प्रादेशिक अस्पतालमा अहिलेसम्मकै आधुनिक सिटि स्क्यान मेसिनबाट पूर्णकालिन रुपमा बुधबारदेखि सेवा शुरु गरेको छ ।
सिटी स्क्यान को लागी धेरै पहिलेदेखि पहल भएको थियो, हरेक बर्ष बजेट आयो तर यसपल्ट आफुहरुको प्रयास सफल भएको अस्पतालका अध्यक्ष निर्मल शाहले बताए ।
अन्तराष्ट्रिय प्रक्रियामा जानुपर्ने कारण र फ्याक्ट्रीबाटै ल्याउदा भन्सार प्रक्रियामा पनि समय लाग्ने हुदा अलि ढीलार्इ भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डाक्टर हेमराज पाण्डेले बताए । । उनले भने ‘ढिलार्इ भएतापनि ‘जि’ कम्पनिको एकदम स्ट्याडर मानिन्छ । उक्त सिटी स्क्यान मेसीन १२८ स्लाइसको छ र अहिलेसम्म धनगढीमा १६ स्लाइस ३२ स्लाइस भन्दा माथिको नभएका कारण यो धनगढीको पहिलो सिटी स्क्यान हो, यो मेसिन जस्तोसुकै बिरामी जाच्नको लागी पनि उपयुक्त मानिन्छ र शरीरको जुनसुकै भागको अंगको अति सुक्ष्म अध्ययन पनि गर्न सकिन्छ ‘।
सामान्यतया चेकजाच गरेको रु ३००० देखि धेरैमा रु ६००० सम्म शुल्क लाग्ने र यो रेट प्राइभेड अस्पतालको तुलनामा धेरै कम हुनु साथै अन्य सरकारी अस्पतालको तुलनामा पनि केहि कम रहेको पाण्डेले बताए।
खासगरी मष्तिष्कघात, मष्तिष्कघात भित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचान लगायतका लागि सिटी स्क्यान मेसिनको आवश्यकता पर्ने गर्दछ । अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन भएमा विरामीहरुले दुई हजार पाँच सयदेखि चार हजारसम्ममा सेवा सुविधा पाउने भएका छन् । यसअघि सेतीमा सिटि स्क्यान मेसिन सञ्चालनमा नआउँदा विरामीहरुले धनगढीका निजी अस्पताल तथा भारतका विभिन्न स्थात लगायत नेपालको कोहलपुर, काठमाडौ सेवा लिन जानुपर्ने बाँध्यता थियो ।
पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि भवन अभावका कारण मेसिन सञ्चालनमा ढिलाई भएको थियो ।
यस्तै, अस्पतालले छिट्टै एमआरआई सेवा पनि सुचारु गर्ने तयारी गरेको र एमआरआई भन्सार पुगिसकेको र केही महिनाभित्र जडान गरि सञ्चालनमा ल्याइने अध्यक्ष शाहले बताए ।