जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेश प्रदेशमा मुख्यमन्त्री पाउने चर्चा चलेसँगै सो पार्टीभित्र आकांक्षीहरुको दौडधुप बढेको छ । संसदीय दलको नेता मात्र मुख्यमन्त्री बन्न पाउने प्रावधान रहेकाले नेताहरूबीच संसदीय दलको नेताका लागि हानाथाप भइरहेको छ । मधेश प्रदेशको प्रदेश सभा सदस्यमा जितेका नेताहरूले काठमाडौँसम्म आएर शीर्ष नेतृत्वलाई दवाव दिन थालेपछि अध्यक्ष उपेन्द्र यादव आफै जनकपुर पुगेका छन् ।
जनकपुर पुगेसँगै उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग छलफल सुरु गरेका छन् । प्रदेश सभा सदस्यको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने जसपा नेपालको तयारी रहेको छ । प्रदेशसभा सदस्यहरुको शपथ शुक्रबार हुँदैछ ।
जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले भने पार्टी अध्यक्ष यादव चुनावी समीक्षाका लागि जनकपुर आएको जिकिर गरे । संसदीय दलको नेता चयन गर्ने कार्य अध्यक्षको तर्क गर्दै उनले यसमा प्रदेश सांसदहरुको भूमिका हुने बताए ।
‘चुनावपछि नेताहरुसँग अध्यक्षज्यूले भेटघाट गर्नुभएको थिएन, चुनावमा के कस्तो अवस्था रह्यो त्यसको बारेमा उहाँ छलफल गर्न आउनु भएको हो’, अध्यक्ष यादवले भने, ‘प्रदेश सभामा शपथग्रहण भइसकेपछि संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुन्छ । तर को नेता बन्ने, को मुख्यमन्त्री बन्ने भन्नेमा पार्टी अध्यक्ष वा प्रदेश सभाबाहिर रहेका कसैको हात रहँदैन । उहाँहरूले आफै सबै कार्य गर्नुहुनेछ ।’
उसो त संघमा संसदीय दलको नेता चयन हुने बखत पनि अध्यक्ष यादव काठमाडौँमा थिएनन् । संसदीय दलको नेता चयन हुन लाग्दा उनी काठमाडौँ छाडेर जनकपुरतर्फ लागेका थिए । नेता चयनमा प्रत्यक्ष हस्तक्षेप नगरे पनि सबै कुराको तारतम्य भने उनले नै गरेका थिए । मधेश प्रदेशको प्रदेश सभामा पनि पार्टीबाट संसदीय दलको नेता चयन गर्दा यादवको अप्रत्यक्ष हस्तक्षेप रहने र उनले चाहेका व्यक्ति नै संसदीय दलको नेता हुने सो पार्टीका नेताहरू बताउँछन् ।
यादवले जसपाबाट प्रदेश सभा तथा प्रतिनिधि सभामा चुनाव हारेका नेताहरूसँग हिजो छलफल गरेका थिए भने आज प्रत्यक्षमा जितेका प्रदेश सभाका सदस्यहरुसँग छलफल गर्दै छन् । यसअघि पनि मधेश प्रदेश सरकारका नेतृत्व जसपाले गरेको थियो । तर सरकारको कामकाज सन्तोषजनक नभएको भन्दै आलोचना हुँदै आएको छ ।
आमचुनावमा सरकारसँग जोडेर जसपाको आलोचना हुँदा समग्र निर्वाचन परिणाम नै असर देखिएको थियो । ती सबै कुरालाई ध्यानमा राखेर यसपटक यादवले सतर्कतापूर्वक निर्णय लिने र सोहीअनुसार सरकार गठनमा लाग्ने तयारी गरेको नेताहरूको भनाइ छ ।
मधेस प्रदेशका एक–एक नेतासँग छलफल गरेर उनी निष्कर्षमा पुग्ने तयारीमा रहेको बुझिएको छ । संसदीय दलको नेताका लागि सरोज यादव, रामअशिष यादव, मनिष सुमन, लालबाबु राउत, राजु गुप्ताको दौडधूप बाक्लिएको छ । त्यसमा सरोज यादवको सम्भावना बढी देखिएको छ । सरोज यादव मधेस प्रदेशका पूर्व सभामुख हुन् ।
यद्यपि उनको नाममा सहमति नभए चुनाव गराएर संसदीय दलको नेता चयन गर्नेगरी छलफल अघि बढेको छ ।