Skin_Hospital_Dhn

नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई निर्वाचनमा आउन आग्रह गर्‍यो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध भएर निकास खोज्न आग्रह गरेको छ । नेपाल तेक्वान्दो महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो ।

महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागी हुन आग्रह समेत गरेको छ । कानूनविपरीत राखेपले संघ खारेज गरेको भन्दै सर्वोच्च अदालतमा नेपालको तेक्वान्दो संघको मुद्दा विचाराधीन रहेकै अवस्थामा महासंघले पत्रकार सम्मेलनमार्फत आफ्नो विचार स्पष्ट पारेको हो ।

गत वैशाख ९ गते बसेको राखेपको ११३ औं बोर्ड बैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा संघसंस्था विवाद समिति गठन गरेको थियो । विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादित मध्येको एउटा कार्यसमितिका कुनैपनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार दुवै संघलाई खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।

राखेपले एउटै प्रकृतिका दुई तेक्वान्दो संघलाई खारेज गर्दै नयाँ संघगठन गरेपछि विवाद अहिले चर्किएको छ । दुई मध्येको एक संघले राखेपको निर्णयलाई स्वागत गर्दै अगाडि बढ्ने बताएको छ भने राष्ट्रिय तेक्वान्दो संघले राखेपको निर्णय कानून विपरीत भएको भन्दै अदालतमा पुगेको हो । यस्तै आफ्ना पदाधिकार समावेश नगरी गठन गरेको विरोध गर्दै आएका छन् । नेपाल तेक्वादो संघले आफू खुशी तरिकाले संघ चलाएको र कुनैपनि प्रतियोगिता आयोजना नगरेको आरोप लाग्दै आएको छ ।

राखेपबाट पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिइएको छ । जोशी र महासचिव बुधवार सादोबाटोस्थित तेक्वान्दो कार्यालयमा बहाली गर्न जाँदा विवाद भएको थियो । खारेज गरिएका संघका अध्यक्ष प्रकाश शमशेर राणाको नेतृत्व पदाधिकारीले तेक्वान्दो भवन छोड्न अस्वीकार गरेपछि विवाद भएको थियो । एउटा पक्ष छोड्न तयार नभएको र अर्को पक्ष तेक्वान्दो भवन भित्र छिर्ने विवादपछि प्रहरीले कार्यालयमा ताला लगाइदिएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारीको रोहबरमा दुवै पक्ष अहिले कार्यालयमा नबस्ने सहमतिपछि प्रहरीले ताला लगाएको थियो । तर त्यसको दुई दिनपछि प्रकाश शमशेर राणा नेतृत्वले कार्य सञ्चालनमा बाधा भएको भनेपछि ताला खोलिएको थियो ।

सम्बन्धित
Loading...