
काठमाडौं ।
नेपालमा पहिलो पटक आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित भएको छ । आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने देखिएको हो ।

यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए ।

“अहिले हामीले फाइभजी सपोर्ट गर्ने दुई चार ओटा सेट फेला पारेका छौँ, ती सेटहरूमा फाइभजी टेस्ट भइरहेको छ,” उनले भने, “यस बाहेक अन्य सेटहरूको खोजी गर्ने कार्य समेत भइरहेको छ ।”
बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्ने योजना रहेको अधिकारीले सुनाए । उनका अनुसार अबको केही दिन पछि मात्रै फाइभजी ट्रायल सुरु गरिनेछ । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यस अघि नै सम्पन्न गरिसकेको छ ।
