काठमाडौं ।
पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । नयाँ सरकार गठन भएयता बजारमा लगानीकर्ता सक्रिय भएको देखिन्छ । नेप्से परिसूचक र कारोबार रकमको वृद्धि हेर्दा लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
पछिल्ला महिनाहरूको कारोबार रकम हेर्ने हो भने ५० करोडसम्मको सेयर खरिद–बिक्री भएको थियो । त्यस्तै बजार घटेर १८१५ विन्दुसम्म झरेको थियो । तर, पछिल्ला दिनहरूमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि उकालो लागेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक बढेर २०८३ विन्दुसम्म पुगेको थियो । यसदिन नेप्से घटेर २०३० को न्यून विन्दुसम्म झरेको थियो । तर, अन्तिम समयमा खरिदकर्ता सक्रिय भएको देखिन्छ । यसदिन २ः४६ मा बजार घटेर २०३० विन्दुमा झरेको थियो ।

१४ मिनेटको अन्तरालमा बजार १७.२६ अंक बढेर २०४६.२९ विन्दुमा रोकिएको छ । यस दिन चार अर्ब चार करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । नेप्सेका अनुसार यस दिन २६१ धितोपत्रको एक करोड आठ लाख ८० हजार ९०४ कित्ता खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका धितोपत्रहरूमध्ये सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७६ रुपैयाँ ५० पैसा वृद्धि भएर एक हजार ९४१ रुपैयाँ ६० पैसा कायम भएको छ ।
त्यस्तै पाँच कम्पनीको ९ प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ भने अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक रकमको सेयर कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यो बैंकको २२ करोड ५७ लाख रुपैयाँ सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक र फाइनासन्स समूहको समूहगत परिसूचक घटेको छ । बाँकी समूहको समूहगत परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा जीवन बिमा समूह रहेको छ । यो समूहको परिसूचक २.९९ प्रतिशतले वृद्धि भएको छ ।
