Skin_Hospital_Dhn

शुक्लाफाँटामा शीतभण्डार निर्माण हुँदै

कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुनेभएको छ । यसका लागि नगरपालिकाले रु २५ लाख रकम विनियोजन गरेको छ । वसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्न सम्बन्धित निकायमा पठाउने सहमति भएको छ ।

वडा नं ११ मा आइतबार बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले सो सहमति जनाएका हुन् । सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको वडाध्यक्ष शेरबहादुर साउँदले बताए । यसपछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिकको टोलीले शीतभण्डार गृह निर्माणका लागि स्थानीय छनोट गर्ने उनले जानकारी दिए । छलफल कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले वनलाई हानिनोक्सानी नहुनेगरी शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए ।

“वन संरक्षणकर्मी भएकाले म आफैँले सामुदायिक वनमा जग्गा उपलब्ध गराउन सक्दैन, गराउछु पनि भन्न सक्दिन”, उनले भने, “उपभोक्ताले सहमति दिएका छन्, त्यसका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ ।” सामुदायिक वनका पूर्वअध्यक्ष धनबहादुर बमले हानिनोक्सानी नहुने गरी उपयुक्त ठाउँमा शीतभण्डार निर्माण गरिनुपर्ने बताए ।

राजनीतिककर्मी भक्तराज जोशीले सबैले एकबद्ध भएर वडामा आएको योजनालाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए । समाजसेवी गोपाल नाथले योजना निर्माणका लागि सबै क्षेत्रबाट सकारात्मक जवाफ आएकाले कार्यान्वयन हुनेमा ढुक्क रहेको बताए । नगरपालिका क्षेत्रमा शीतभण्डार गृह नहुँदा व्यावसायिक खेतीमा संलग्न किसानले कृषिउपज, तरकारी, फलफूललगायत बाह्य क्षेत्रमा लगेर भण्डारण गर्नुपर्ने अवस्था रहेको छ । स्थानीयस्तरमै शीतभण्डार गृह निर्माण भएपछि यस क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् ।

नगर प्रमुख रणबहादुर महराले शीतभण्डारका लागि केही रकम नगरपालिकाबाट विनियोजन गरिएको भए पनि त्यसले योजना सम्पन्न गर्न नपुग्ने भएकाले प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरिने बताए ।

सम्बन्धित
Loading...