
भारतमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो
चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको आईतबार राती ज्यान गएको भारतिय मिडियाले जनाएका छन् ।
धनगढी ।
भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गएको छ । निस्ससिएर ज्यान जानेमा कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जली रहेका छन् । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।

चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको आईतबार राती ज्यान गएको भारतिय मिडियाले जनाएका छन् । नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो ।

ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएको बताइएको छ । उपचारको लागि स्थानीय अस्पतालमा पुर्याउँदासम्म अञ्जलीको पनि ज्यान गएको प्रहरीको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकिएको बताइएको छ ।
