Skin_Hospital_Dhn

झलक पालीको डेउडा गीत ‘धन्य मायाजाल’ सार्वजनिक [हेर्नुस् भिडिओसहित]

डोटीः २०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडिओ तथा भिडिओ आइतबार सार्वजनिक भएको छ। बहुमुखी प्रतिभाका धनी पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ र अम्बीका राई ‘अन्जु’को स्वरमा सजिएको उक्त गीत करिब ५ वर्ष लामो प्रतिक्षापछि सार्वजनिक भएको हो।

नजर मिडिया प्रालिको प्रस्तुतीमा भीम बिष्ट (अछामी रेखा) युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो। मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द/सँगीत झलक पाली ‘झरना’को रहेको छ भने एरेञ्ज विनोद बाजुरालीले गरेका हुन्।

त्यस्तै रेकर्डिङ विमल छिनालले गरेका हुन् भने अडिओ मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका हुन्। सिर्जनामा मौलिकता, भावमा प्रेमिलता रहेको सो डेउडा गीतको भिडिओमा अछामी रेखाले निर्देशन गरेका छन् भने झरना बोहरा, झलक पाली ‘झरना’, अम्बीका राई ‘अन्जु’ र खडक मल्लको अभिनय छ।

कैलालीको धनगढीमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवपुरी धाम र डोटीको जोरायल गाउँपालिका–१ तिलाचौडमा गीतको छायाङ्कन अमृत उपाध्यायले गरेका हुन्। भिडिओ सम्पादन तथा रङ्ग संयोजन महेन्द्र बिष्टले गरेका छन् भने मेकअप निशा बोहराले गरेकी हुन्।

गीतको प्रवर्द्धकमा कैलालीको धनगढी, तारानगरमा रहेको अत्री गारमेन्ट उद्योग र डोटीको जोरायल १ तिलाचौडमा रहेको मल्ल तरकारी फर्म रहेका छन्। झुमेर डेउडा खेल्न मिल्ने भएकाले पनि सो गीत दर्शक श्रोताको रोजाइमा पर्ने धन्य मायाजालु टीमको विश्वास छ।

कलाकार पालीले यसअघि ‘के मान्नी है सौंराई’, ‘खोली गोगनको’, ‘जवानीको जोश’, ‘ज्योती जुनको’, ‘धुम मच्चाउछु’, ‘वन जङ्गल जोगाऔं’ लगायतका डेउडा, लोक गीत र डिजे प्याटर्नका गीति सिर्जना पस्किसकेका छन्।

सुदूरपश्चिम साँस्कृतिक समाजका अध्यक्ष रहेका पाली राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशका पूर्व सदस्य पनि हुन्। पेशागत रूपमा नजर मिडिया प्रालि डोटीका संचालक पाली नजर अनलाइनका प्रधानसम्पादक हुन् भने सुदूरखबरका डोटी संवाददातासमेत हुन्।

भिडिओ :

सम्बन्धित
Loading...