धनगढी: बाजुरामा उत्पादित सबै स्याउ बजारमा पुग्न सकेको छैन। बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल र खप्तड छेडेदहलगायतका स्थानीय तहमा स्याउ उत्पादन हुने गरेको छ।
त्यहाँ उत्पादन भएको पाँच प्रतिशत पनि स्याउ बजारमा नपुगेको किसानहरूको गुनासो छ। हामीले बाजुरामा उत्पादित स्याउको बजारीकरण तथा अन्य मुख्य समस्याका विषयमा कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख मीनप्रसाद जैसीसँग संक्षिप्त कुराकानी गरेका छौँ। प्रस्तुत छ, नयाँ सन्देशकर्मी रमा चन्दले निमित्त प्रमुख जैसीसँग गरेको कुराकानाी
बाजुरामा उत्पादित स्याउको कस्तो प्रकारको हो? त्यसको स्याउको बारेमा बताइदिनुस् न !
स्याउलाई सुक्खा हावापानी चाहिन्छ। हावामा चिसोको मात्रा कम हुनुपर्दछ। चिसो चाहिँ चिसो ठाउँ आवश्यक हुन्छ तर सुक्खा हुनुपर्छ।
वर्षादको समयमा कुहिरो काम हुनुपर्दछ। मनाङ र मुस्ताङको स्याउभन्दा यहाँको केही फरक हुन्छ। पूर्वी पहाडमा पानी पनि धेरै लाग्दा साथै कुहिरो र हुस्सु लाग्ने हुँदा यहाँकै जस्तो स्याउ हुन्छ। तुलनात्मक रूपमा हाम्रो यहाँ चिसो हुने हुँदा स्याउ फल्ने हो।
स्याउमा कस्तो मल प्रयोग गरिन्छ?
हाम्रो यहाँ रसायनिक मल प्रयोग गरिँदैन। यहाँ कुनै प्रकारको केमिकल विषादी पनि प्रयोग हुँदैन। यहाँ उत्पादित सबै स्याउ अर्गानिक हुन्छ। हावापानीले अलिकति साथ दिएको छैन। केमिकलहरू प्रयोग गरेर स्याउको क्वालिटी बनाउन सकिन्छ। तर हामीले त्यस्तो गरेका छैनौँ। भारत र चीनको स्याउमा केमिकल प्रयोग गरिएको हुन्छ।
स्याउमा केमिकल प्रयोग गर्दा रसिलो हुन्छ कि?
स्याउमा केमिकल प्रयोग गर्दा रसिलो हुन्छ भन्ने हुँदैन। भारत र चीनमा स्याउ टिप्छन्, त्यसलाई प्रोसेसिङ गर्दछन्। त्यसपछि उनीहरूले स्याउलाई कोल्ड स्टोरमा राख्छन्। कोल्ड स्टारबाट क्रमशः बजारमा आउने हो।
हाम्रो यहाँ चाहिँ रुखबाट टिपेर घरको कोठामा राखिन्छ। यहाँ प्रोसेसिङको प्रक्रिया त्यति हुँदैन। यहाँ भ्रण्डारको पनि समस्या छ।
बाजुरामा स्याउ ढुवानीमा समस्या छ भन्ने कुरा बेलाबेला आइरहन्छ, त्यहाँ ढुवानी कसरी हुन्छ?
जिल्लामा स्याउ ढुवानीमा समस्या छ। सुरुमा मान्छेले बोक्छन्। त्यसपछि खच्चर, ट्र्क्याटर र ट्रकले बोकेपछि मात्रै धनगढी पुगाइन्छ। बारीको स्याउ धनगढी पुगाउनका लागि ९ दिनसम्म लागेको छ।
बाजुराको सबै स्याउ बजारसम्म पुग्न नसक्नुमा मुख्य समस्या के–कु हुन्?
खासगरी सबै स्याउ बजारसम्म पुग्न नसक्नुमा फल टिपे पछिको प्रशोधन प्रक्रिया पुगेको छैन। स्थानीय स्तरमा घरमा भण्डारण गरिनु, ढुवानीको क्रममा चोटपटक लाग्नु, वर्षादको समयको धेरै पानी पर्नु अनि हुस्सु र कुहिरो लाग्नु हो।
कुनै पनि केमिकलको प्रयोग नगरेका कारण स्याउको रङ र स्वादमा केही कमी आएको छ। यातायातको असुविधा पनि एक मुख्य कारण हो, जसले गर्दा समयमै फलेको स्याउ बजारमा पुग्दैन। यदि यातायातको सुविधा भइदिएको भए ८÷९ दिन लगाएर धनगढी स्याउ पुगाउनुपर्ने अवस्था आउने थिएन।