काठमाडौं ।
हुलाक सेवा विभाग र दराज नेपालबीच सम्झौता भएको छ । अब दराज अनलाइनबाट मगाएको सामान फिर्ता गर्नुपरे हुलाक सेवा प्रयोग गर्न सकिने भएको छ ।
हुलाकलाई समयानुकूल र सन्दर्भिक बनाउने तथा व्यावसायिक दायरा विस्तार गर्ने उदेश्यका साथ हुलाक सेवा विभागले हालै अनलाइन रिटेलर ‘दराज नेपाल’सँग ई—कमर्ससम्बन्धी सम्झौता गरेको हो ।
सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालयमार्फत फिर्ता गर्न सकिनेछ ।
यो सेवा पहिलो चरणमा काठमाडौंका तीन स्थान बरमहल, महाराजगञ्ज र ठमेलमा संकलन केन्द्रमा उपलब्ध हुने बताइएको छ । अन्य संघसंस्थासँग पनि वस्तु ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको विभागले जनाएको छ ।