चीनको व्यापारिक भवनमा भीषण आगलागी हुँदा २६ जनाको मृत्यु

काठमाडौँ: उत्तरी चीनको सान्सी प्रान्तमा रहेको एक व्यापारिक भवनमा भीषण आगलागी हुँदा अहिलेसम्म २६ जनाको मृत्यु भएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार देशको लुलियाङ सहरमा अवस्थित उक्त चारतले भवनमा बिहीबार बिहान स्थानीय समयानुसार ७ बजे आगलागी भएको हो।

त्यसपछि भवनबाट दर्जनौं मानिसलाई बाहिर निकालिएको थियो, जसमध्ये ५१ जनालाई अस्पताल लगिएको थियो। सरकारी सञ्चारमाध्यमका अनुसार आगो नियन्त्रणमा आए पनि राहत र उद्धार जारी छ।

देशको सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा राज्य सञ्चालित बेइजिङ युथ डेलीले पोस्ट गरेको भिडिओमा भवनबाट ठूलो आगो र धुवाँ निस्किरहेको देख्न सकिन्छ। कोइला उत्पादनको हिसाबले चीनको सबैभन्दा ठूलो प्रान्त सान्सी प्रान्त हो।

गत अप्रिलमा पनि बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको थियो। यस वर्षको जुनमा एक रेस्टुरेन्टमा ग्यास चुहावटका कारण भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो।

सम्बन्धित
Loading...