काठमाण्डौ ।
पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) प्रवेश गरेको छ । पोखरा रंगशालामा आज (बिहीबार) भएको खेलमा चर्च ब्वाइज युनाईटेडलाई सेमिफाइनल खेलमा हराउँदै बीवाईएसी फाइनल पुगेको हो ।
बीवाईएसीको जितमा रोजिन प्रजापतिले गोल गरे । उनले पहिलो हाफमा थपिएको ३ मिनेटको इन्जुरी समयमा गोल गरे । प्रवीण बस्नेतको प्रहार गोलरक्षकले बचाएपछि फर्किएको बलमा हेडर गर्दै प्रजापतिले गोल गरेका थिए ।
बीवाईएसीले चर्चलाई हराउँदै संकटा क्लबसँग फाइनल खेल्ने भएको छ । संकटा पहिलो सेमिफाइनलको खेलमा विभागीय टोली नेपाल एपीएफलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । बीवाईएसी अघिल्लो संस्करणको क्वाटरफाइनलबाटै बाहिरिएको भए पनि अहिले लयमा देखिन्छ । टोली पोखरा आउनुअघि झापाका दुई प्रतियोगितामा भाग लिइसकेको थियो ।
भुटानी युथ स्पोर्टस् बीवाईएसीको प्रतियोगितामा यो दोस्रो सहभागिता हो । बीवाईएसीले प्रतियोगितामा बाई पाएर क्वार्टरफाइनल खेलेको थियो । क्वार्टरफाइनलमा बीवाईएसीले प्रतियोगिताको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । अमेरिकामा वर्षभरि ४ वटा प्रतियोगिता खेलिरहने टोलीलाई नेपालका पूर्वप्रशिक्षक प्रदीप हुमागाईंले नेतृत्व गरेका छन् ।
