विश्वकप फाइनलः भारतलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुर्दै अस्ट्रेलिया

काठमाडौंः आज विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया खेल्दैछन् । भारतमा जारी विश्वकपको फाइनल खेल भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू तेस्रो पटकको विश्वकप विजेता बन्ने भारतको लक्ष्य छ ।

प्याट क्युमिन्सको टोली भने रोहित शर्माको टोलीलाई घरेलु मैदानमा हराउँदै उपाधि उचाल्ने मौका कुरिरहेको छ । सन् २०११ महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक विश्वकप उठाएको भारतले त्यसयता फाइनलमा स्थान बनाउन सकेको थिएन । २०१५ मा उपाधि जितेको अस्ट्रेलियाको त्यसयता यो पहिलो फाइनल हो ।

साउथ अफ्रिकामा सन् २००३ पछि यी दुई टोली पहिलोपटक फाइनलमा भेट हुँदैछन् । भारतीय टिमलाई त्यसबेलाको हारको बदला लिन यो उपयुक्त अवसर हुन सक्छ, त्यो पनि लाखौं घरेलु दर्शकलाई साक्षी बनाएर ।

दुई टोलीको फाइनल यात्रा
अस्ट्रेलियाले अहिलेसम्म सात फाइनल खेलेको छ । जसमा पाँच पटक उपाधि जित्न सफल भयो भने दुई पटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको अस्ट्रेलिया १९७५ को पहिलो विश्वकपमा वेस्ट इन्डिज र १९९६ मा श्रीलंकासँग फाइनलमा चुकेको थियो । सबैभन्दा बढी फाइनल खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने टोली पनि अस्ट्रेलिया नै हो ।

त्यस्तै, तीन पटक फाइनल खेलेको भारतले सन् १९८३ र २०११ मा उपाधि जितेको थियो । २००३ मा भारतले फाइनलमा १२५ रनको लज्जास्पद हार व्यहोरेको थियो । घरेलु टोलीको स्लोगन ‘तीनका ड्रिम’ पूरा गरेर पुरानो बदला चुक्ता हुने आशामा घरेलु टोलीका समर्थक आशावादी छन् ।

भारत र अस्ट्रेलियाको लय
भारतले जारी विश्वकपमा सबै खेल जितेर फाइनलमा पुगेको हो । भारतीय खेलाडीहरु उच्च लयमा रहेका छन् । भारतले समूह चरणका नौ खेल जित्दै सेमिफाइन यात्रा तय गरेको थियो । सेमिफाइनलमा पनि भारतले आफ्नो उच्च लय जारी राख्दा न्यूजिल्याण्डलाई सहजै पराजित गरेको थियो ।

समूह चरणको दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हार व्यहोरको अस्ट्रेलियाले त्यस यताका आठ खेलमा लगातार जित निकालेर फाइनलमा पुगेको हो । समूह चरणमा दक्षिण अफ्रिकासँग हारेको बदला अस्ट्रेलियाले सेमिफाइनलमा लियो । समूह चरणको पहिलो खेलमा भारतसँगको ६ विकेट हारको बदला लिन अस्ट्रेलियाको लागि फाइनलमा अवसर हुनेछ।

सम्बन्धित
Loading...