Skin_Hospital_Dhn

सोमबार र मंगलबार सार्वजनिक बिदा

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रभित्र सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

शिवनाथ धाममा भोलि र पर्सी जात्रा लाग्ने भएकाले शिवनाथ गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको हो ।

जिल्लाको प्रसिद्ध धामको रुपमा रहेको शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गर्दछ । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ ।

स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै पालिकाले जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । यसअघिका बर्षहरुमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

शिवनाथ धामको जात्रालाई स्थानीयहरुले महत्वका साथ लिने गर्दछन् । टाढा–टाढाका आफन्तजनहरु पनि जात्रामा आउने भएकाले भेटघाट र सामाजिक सदभावको जात्राको रुपमा समेत शिवनाथ जात्रालाई लिने गरिएको चन्दले बताए ।

सम्बन्धित
Loading...