धनगढीः कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ मा सोमबार साँझ भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको परिचय खुलेको छैन। पहाडबाट धनगढी आउँदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।
दुर्घटनामा डोटी जोरायल गाउँपालिका–२ का ३४ वर्षीय ललिता सारू, ५ वर्षीय आर्यान सारू, २ वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जीवन विक, ६० वर्षीय रँग कामी, २५ भरत मल्ल, १८ वर्षीय भुवन मडै, २८ वर्षीय यादव रावल, ४० वर्षीय रामबहादुर रावत घाइते भएका छन्।
उनीहरूको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै, १२ वर्षीय विपिन विक, ३६ वर्षीय टेकबहादुर सारू र ३४ वर्षीय कल्पना विकको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको छ। मिनी ट्रक चालक फरार छन्।
