धनगढी उपमहानगरद्वारा सेती अस्पताल परिसरभित्र रहेको क्यान्टिनमा अनुगमन

धनगढी: धनगढी उपमहानगरपालिकाले सेती प्रादेशिक अस्पताल परिसरभित्र रहेका क्यान्टिन र वरिपरिका होटलमा अनुगमन गरेको छ। सोमबार उपमहानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमन गरेको हो।

सेती प्रादेशिक अस्पताल परिसरभित्र रहेको क्यान्टिन र वरिपरिका होटलहरूले सर्वसाधारणलाई अखाद्य खाना खुवाउने गरेको भन्ने सूचना पाएपछि उपमहानगरपालिकाले अनुगमन गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। उपभोक्ता हित संरक्षण समितिले सेती अस्पतालभित्र रहेको खाना तथा नास्ता पसल, भूमिराज होटल र डडेल्धुरा होटलमा अनुगमन गरेको हो।

सेती अस्पतालभित्रको खाना तथा नास्ता पसलबाट बिग्रिएको मःम ४० वटा, मुसाले खाएको चाउचाउ ३ पाकेट, बासी समोसा ३ वटा र रंग प्रयोग गरेको कुखुराको मासु ३ केजी नस्ट गरिएको छ।

उक्त पसललाई ७ दिनभित्र भान्सा र भाडा धुने ठाँउ अलग बनाउन र माछा, मासु, साग, तरकारी भण्डारन गर्ने फ्रिज, डी फ्रिज छुट्टाछुटै व्यवस्था गर्न तथा सरसफाईमा विशेष ध्यान दिन सुझाव दिइएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले जनाएको छ।

भूमिराज होटललाई ७ दिन भित्र व्यवसाय वडा कार्यालयमा नवीकरण गर्न भनिएको छ। उक्त होटलबाट बासी समोसा ११ वटा, भात २ थाली, तरकारी १ कचौरा, कुखुराको मासु ५०० ग्राम र कुखुराको रोस्ट ५०० ग्राम नस्ट गरिएको छ। यसैगरी डडेल्धुरा होटलबाट रंग प्रयोग गरिएको चाउमिन ५०० ग्राम, बासी सेमी ५०० ग्राम र समोसा २० वटा नस्ट गरिएको जनाइएको छ।

सम्बन्धित
Loading...