Skin_Hospital_Dhn

कञ्चनपुरमा धम्क्याएर पैसा माग्ने दुईजना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा धम्क्याएर पैसा माग्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडी दोगडाकेदार–७ का ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका–१ का नरेश साउद रहेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–७ सुडाका एक व्यवसायीलाई फोनबाट धम्क्याएर ५ लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले महेन्द्रनगरमा बसोबास गर्ने जोशी र साउदलाई पक्राउ गरेको हो।

भनेअनुसार रकम नदिए परिवारका सदस्य वा स्वयं व्यवसायीलाई नै खतरा हुन सक्ने भन्दै उनीहरुले धम्की दिँदै आएका थिए। प्रहरीका अनुसार जोशी र साउदले फरक–फरक सिम प्रयोग गरेर डर, धम्की दिँदै रकम माग्ने गरेका थिए। पक्राउ परेका जोशी र साउदको साथबाट खुकुरी, चक्कु, ६ थान सिमकार्ड, ३ थान मोबाइल र मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई सोमबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले फोनमार्फत डर देखाउने र ज्यान मार्नेसम्मको धम्की दिने गरेको पाइएको बताए। जोशीले महेन्द्रनगर बजारमा होटेल सञ्चालन गरेका छन्।

उनले होटेलमै बसेर फोनमार्फत धम्काउने र रकम माग्ने गरेका थिए। रकम लिन भने साउदलाई पठाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनीहरुले म्यासेज समेत पठाएर पार्टीको निर्णय भन्दै डर देखाउने गरेको पाइएको छ। उनीहरूले पनि रकम माग्न धम्की दिएको स्वीकारेका छन्। पक्राउ परेका दुवै जनालाई अपराधसंहिता २०७४ अनुसार मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...