काठमाडौँ: सर्वोच्च अदालतले टिकटकमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सरकारले टिकटक प्रतिवन्ध लगाएपछि परेका १० वटा रिटको एकसाथ सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो।
टिकटक प्रतिबन्धविरुद्ध परेका रिट सुनुवाइका लागि सर्वाेच्चका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको थियो। हिजो सो मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो।
गत कात्तिक २७ गते बसेको मन्त्रिरिषद् बैठकबाट सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा. सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, रामकृष्ण बन्जारा, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, पर्शुराम पाण्डे, भद्रप्रसाद नेपाल (स्वागत), अञ्जन धिताललगायतले रिट दायर गरेका हुन्।
