धनगढी: सुदूरपश्चिमको प्रमुख शहर धनगढीको सौन्दर्यकरण बढाउन पेन्टिङ गरिन थालिएको छ।पहिलो चरणमा धनगढी उपमहानगरपालिकाले पार्क मोड अगाडि रहेको कर्भड हलको पर्खालमा पेन्टिङ गरेको छ।
सुदूरपश्चिमको मौलिकता झल्काउने तस्वीरहरूसहित वाल पेन्टिङ गरिन थालिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए। क्रमिक रूपमा उपमहानगरपालिका क्षेत्रका सडक छेउका पर्खालहरूमा सुदूरपश्चिमका संस्कृति, परम्परा , भेषभूषा, परिकार ,कला, तीर्थस्थल र पर्यटनकीय स्थलहरूका तस्वीरहरू राखेर सुदूरपश्चिमको परिचय कलात्मक रूपमा चित्रण गर्ने र धनगढी शहरको सौन्दर्यकरण बढाइने उनको भनाइ छ।
‘धनगढी शहरलाई सुन्दर पनि बनाउनुपर्छ भन्ने उदेश्यका साथ हामीले वृक्षारोपण गरेका छौँ। यसका साथै यहाँका वालहरूमा पेन्टिङ गरेर सुदूरपश्चिमलाई चिनाउनेछौँ,’ नगरप्रमुख हमालले भने, ‘अब धनगढीमा आउँदा यहाँको भित्तामा हेर्दा नै सुदूरपश्चिम कस्तो छ भनेर आफैं चिनिने बनाउने छौँ।’
वाल पेन्टिङबाट शहरको सुन्दरता बढ्नुका साथै सुदूरपश्चिमको परिचय पनि दिने उनको विश्वास छ। नगरप्रमुख हमालले वाल पेन्टिङ गरेको ठाउँमा पोस्टर नटाँस्न तथा पान खाएर नथुक्न पनि सबैलाई आग्रह गरे। यदि त्यसो गरेको पाइएमा जरिवाना गरिने उनको भनाइ छ।
