धनगढीः नेपाल राष्ट्र बैंकनजिक धनगढीमा कार्यालयनै खोलेर बैंक ह्याक गर्ने नौ जनाको परिचय खुलेको छ । प्रहरीले हिजो (बुधबार) पक्राउ गरेकका बैंक ह्याक गर्ने नौ जनाको परिचय खुलेको हो । कैलाली प्रहरीले बैंक एकाउन्ट ह्याक गर्ने गिरोहका साथबाट ११ थान ल्यापटप पनि बरामद गरेको थियो ।
धनगढी उपमहानगरपालिका–५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनारले अवैध रूपमा सञ्चालन गरेको आईटी सेन्टरबाट सुनारसहित नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारतको उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र दिल्लीकै १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, २८ वर्षका कमल सुनार र २२ वर्षीय जयराम सुनारलाई पनि पक्राउ गरिएको डीएसपी चन्दले बताए ।
यस्तै, यो ठगी धन्दाका मुख्य नाइके बेल्डाडीका सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ पनि बरामद भएको बुझिएको छ। बरामद गरिएका सबै नोट भारतीय रहेको र पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ, बीमा दुर्घटनालगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको बताइएको छ ।