लुम्बिनी अल स्टार्स नेपाल टी—२० लिगको फाइनलमा प्रवेश
काठमाण्डौ ।
लुम्बिनी अल स्टार्स नेपाल टी—२० लिगको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले सात विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो।
जनकपुरका लागि समिउल्लाह सिनवारीले ४५, पवन सर्राफले ३०, सराफुद्दिन अस्रफले २४ र राजेश पुलामी मगरले १३ रन बनाए।
लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई—दुई तथा स्याड्ले भान चोकले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले आठ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। लुम्बिनीका लागि इशान पाण्डेले ३८, अनिल सहले २४, विपुल शर्माले २०, स्याड्ले भान चोकले १७ र लाहिरु मिलन्थाले १६ रन बनाएका थिए।
त्यस्तै, जनकपुरका लागि अशान प्रियञ्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई—दुई तथा ट्रेभन ग्रिफिथ र पवन सर्राफले एक—एक विकेट लिएका थिए।
सोमबार दिउसो १२ बजे इलिमिनेटरमा विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुनेछ। जित्ने टोली फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा जनकपुरसँग प्रतिस्पर्धा गर्नेछ।