
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।
आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका छन् ।


नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा यही पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् ।
मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
