काठमाडौँ ।
नेप्से परिसूचकमा गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक २१.३५ अंक घटेर २१९०.४२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ।
मंगलबार कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलबार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिनायताकै उच्च भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो। जसमा बैंकिङ र म्युचुअल फण्ड उपसमूहको बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
मंगलबार नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिब ९ प्रतिशत घटेको छ। आज ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
